नरेश फुयाल, जेष्ठ–१६,काठमाण्डौ । नेपाली काग्रेसको देउवा पक्षले संविधान नबनाउने माओवादीको षड्यन्त्र रोक्न असफल भएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेको छ ।
देउवा पक्षीय केन्दिीय सदस्यहरुको बैठकले आफ्नो अनुकुल नभए संविधान नबनाउने षड्यन्त्रमा माओवादी सफल भएको तर त्यसलाई रोक्न नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको आलोचना गरेको हो ।
वरिष्ठ नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले पार्टी सभापति शुसिल कोइरालामा समन्वयनकारी क्षमता न भएका कारण आफ्ना एजेण्डामा अरु दलहरुलाई सहमत गराउन नसकिएको ठहर गरेको छ ।
संविधानसभा विघटनसँगै नयाँ चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै बैठकले आन्दोलनमा जाने बताएको छ । देउवा पक्षले पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्ने र सरकारविरुद्ध हुने आन्दोलनको नेतृत्व आफ्नो विचार समूहले गर्ने बताएको छ ।
बैठकले संविधानसभाको बैठक नै नबसी संविधानसभा भंग हुनु र नयाँ संविधान नबन्नुको जिम्माबारी प्रधानमन्त्री र माओवादीले लिनु पर्ने निष्कर्ष निकालेको छ ।