हावाहुरीले घर भत्काउंदा बाजुरामा ४ जनाको ज्यान गयो
हावाहुरीले घर भत्काउंदा बाजुरामा ४ जनाको ज्यान गयो
Added: 2012 May 31

वसन्त शर्मा जेठ १९, काठमाडौ । बाजुराको उत्तरी क्षेत्रमा पर्ने बांधु गाविस–९ पिपलडालीम गयराती आएको हावाहुरीका कारण घर भत्किंदा तीन बालबालिका र एक बृद्धाको ज्यान गएको छ । घटनामा परि अन्य ४ जना घाईते भएका छन् ।

ज्यान गुमाउनेमा बाधु ९ का ६० वर्षीया सुप्रिया सार्की र उहांकी १४ वर्षीया नातिनी करिष्मा तथा सोही ठाउंका दत्त कार्कीका १२ वर्षीय छोरा लोकराज र प्रलाद लुहारको एक वर्षीय छोरा दिपेन्द्र रहेका बाजुरा प्रहरीले जनाएको छ । घाइते अन्य ४ जनाको कोल्टीस्थित एक मेडिकलमा उपचार भइरहेको छ ।

गएराती करिव १२ बजेतिर आएको हावाहुरीले वाधुं र कोल्टी गाविसका गरि १० घर भत्काएको छ । हावाहुरीले प्राथमिक सवास्थ्य केन्द्रको औषधी राखिएको भवन, स्थानीय पसल र बिद्यालयमा समेत क्षति पुर्‍याएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेका छन् । क्षतिको पुरा विवरण आइनसकेको बाजुरा प्रहरीले  जनाएको छ ।

घटनास्थल सदमुकाम मार्तडीबाट डेढ दिनको पैदल दुरीमा पर्दछ ।
 

सम्बन्धित समाचारहरु