समयमै बजेट ल्याउ, अर्थशास्त्री
समयमै बजेट ल्याउ, अर्थशास्त्री
Added: 2012 June 10

नरेश फुयांल, जेष्ठ–२७,काठमाण्डौ । अर्थविद्हरुले राजनीतिक सहमतिमा अध्यादेशबाट भए पनि समयमै नयाँ बजेट ल्याउन सुझाव दिएका छन् । 
राजधानीमा आज आयोजित एक कार्यक्रममा उनीहरुले अहिले कामचलाउ सरकार भएकाले बढीमा छ महिनाका लागि मात्र सानो आकारको बजेट ल्याउनु पर्ने बताएका छन् ।

अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले कामचलाउ प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति भएका बेलामा पूर्ण बजेट ल्याउन नमिल्ने जीकिर गर्नु भयो । असहज परिस्थितिमा आएको बजेटले दीर्घकालीन रुपमा काम गर्न नसक्ने र मुलुकमा ठूलो संकट निम्त्याउने भन्दै उहांले आर्थिक मुद्धामा केन्द्रीत भएर राजनीतिक सहमतिमा सानो आकारको बजेट ल्याउनु उपयुक्त हुने धारणा राख्नु भयो ।

पूर्व गभर्नर डा. तिलक रावलले कामचलाउ सरकारले महत्वकांक्षी ठूलो बजेट ल्याउन नहुने बताउदै उहांले अध्यादेशबाट भए पनि राजनीतिक सहमतिमा सानो आकारको बजेट ल्याउनु पर्ने बताउनु भयो ।

यसैगरी सोही कार्यक्रममा राजनीतिक स्वार्थमा बजेट ल्याउँदा मुलुकले थेग्न नसक्ने भन्दै अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले राजनीतिक सहमतिमा ४ सय २९ अर्बको बजेट ल्याउनु उचित हुने धारणा राख्नु भयो । निर्यातभन्दा आयात बढी, सरकारको लगानीमा प्रतिफल शून्य र ४६ प्रतिशत वैदेशिक सहयोग सरकारको नियन्त्रण भन्दा बाहिर रहेको भन्दै उहांले मुलुकको अर्थतन्त्रमा जति तरलता आउंछ त्यत्ति नै सर्वसाधारणलाई मार पर्ने स्पष्ट पार्नु भयो ।

त्यस्तै अर्थविज्ञ डा. चन्द्रमणि अधिकारीले राजनीतिक असहमति, बन्द हडतालको अवस्थामा सरकारले लगानीमैत्री बजेट ल्याउन कठिन हुने बताउनु भयो । राजनीतिक शून्यताको अवस्थामा जनताको आकांक्षा, राज्यको श्रोत साधन अनुसारको बजेट ल्याउनु पर्नेमा जोड दिदै उहांले कार्यकर्ता रिझाउने, सत्ताधारी पार्टी र सचिवहरुको तजबिजीमा आउने बजेटले मुलुकमा अप्ठारो अवस्था सिर्जना गर्ने चेतावनी दिनु भयो ।

अर्थशास्त्री डा. पुष्प कँडेलले राजनीतिक सहमतिमा बजेट ल्याउनु पर्ने धारणा राख्नु भयो । उहांले दोहारो अंक हासिल हुने खालको बजेट ल्याउन प्रधानमन्त्रीलाई महत्वपूर्ण अवसर रहेको बताउनु भयो । एकिकृत नेकपा माओवादीका केन्द्रीय आर्थिक सल्लाहकार डा. डिल्लीराज खनालले अध्यादेशबाटै भए पनि पूर्ण बजेट ल्याउनु पर्ने जिकिर गर्नु भयो ।


 

सम्बन्धित समाचारहरु