सुदिप पौडेल,असार १९ गते,काठमाण्डौं ।अर्थमन्त्री वर्षमान पुनले सरकारले दलिय सहमति बिना ल्याएको बजेट रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा मन्त्री पुनले राजनीतिक सहमति नजुटे पनि सरकारले ल्याउने पूर्ण आकारको बजेट रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गर्नु भयो । साथै उहांले सरकारले सकेसम्म दलहरुबीचको सहमतिमै बजेट ल्याउन कोशिस गर्ने बताउनु भयो ।
राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्ने काम नगर्न पनि विपक्षी दलहरुसंग आग्रह गर्दै मन्त्री पुनले एक तृतीयांश बजेटले चुनाव, शान्ति सुरक्षा लगायत महत्वपुर्ण विषयको खर्च पनि नधान्ने भएकाले पुर्ण आकारकै बजेट ल्याउनुपर्ने बाध्यता रहेको बताउनु भयो ।
सरकारले एकतर्फी ढंगले पुर्ण आकारको बजेट ल्याए प्रतिकार गर्ने बिपक्षिदलहरुले बताइरहेका बेला अर्थमन्त्री पुनले दलहरुको सहमति विना नै पूर्ण आकारको बजेट ल्याउने भनाईले मुलुकमा झनै राजनीतिक संकट गहिरीने आशंका गरिएको छ ।
बजेटको प्रतिकार गरे त्यसको राजनीतिक असर के पर्छ भन्नेतर्फ पनि ध्यान दिन बिपक्षि दललाई सुझाव दिदै उहाँले बजेटको प्रतिकार गरिए सरकारले पनि आफ्नो हैसियत देखाउने चेतावनी दिनु भयो ।
अर्थमन्त्री पुनले सरकारले जलविद्युत, कृषि, पर्यटन र पुर्वाधारलाई प्राथमिकता दिदै ४ खर्व २९ अर्वसम्मको बजेट ल्याउने गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।