प्रेस चौतारीद्वारा राजधानीमा प्रदर्शन
प्रेस चौतारीद्वारा राजधानीमा प्रदर्शन
Added: 2013 January 27

एकीकृत माओवादीको धम्कीका कारण विस्थापित भएका दैलेखका पत्रकारहरुलाई तत्काल जिल्ला फर्काएर काम गर्ने वातावरण बनाउन माग राखेर प्रेस चौतारी नेपालले आज राजधानीमा प्रदर्शन गरेको छ ।
विस्थापित पत्रकारहरुको सुरक्षाको माग राखेर माइतिघर मण्डलामा गरिएको धर्नामा सहभागीहरुले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरु विरुद्ध मुद्धा नचलाउने षडयन्त्र भइरहेको भन्दै विस्थापित बनाइएका पत्रकाहरुको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलले सरकारले पत्रकार थापाको हत्यामा संलग्नहरु विरुद्ध मुद्धा नचलाउने प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
दैलेखबाट विस्थापित हुन बाध्य बनाइएका पत्रकारहरुलाई तत्काल काममा फर्किने वातावरण बनाउन माग गर्दै गाउँलेले दोषीलाई उन्मुक्ति दिने प्रयास गरिए कडा आन्दोलन गर्ने चेतावनी दिनु भयो । 
टेलिभिजन एडिटर्स गिल्डका अध्यक्ष महेन्द्र विष्टले पत्रकारहरुमाथिको श्रृंखलाबद्ध आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको भन्दै यसका विरुद्ध सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याउनु भयो । 
प्रेस चौतारीका पूर्व अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारहरुको हत्या र श्रंखलावद्ध आक्रमणमा  संलग्नहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने बताउनु भयो ।
 

सम्बन्धित समाचारहरु