माओवादीका दुवै पक्ष आज पनि छुट्टाछुट्टै छलफलमा व्यस्त
माओवादीका दुवै पक्ष आज पनि छुट्टाछुट्टै छलफलमा व्यस्त
Added: 2012 June 01

वसन्त शर्मा जेठ १९, काठमाडौ । आन्तरिक किचलो उत्कषमा पुगेपछि विभाजनको संघारमा पुगेको एकीकृत नेकपा माओवादीका दुवै पक्षको बैठक आज पनि बस्दैछन् । संस्थापन पक्षको केन्द्रिय समिति बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

उपाध्यक्ष मोहन वैद्य पक्षको अनौपचारिक बैठक भने अहिले जारी छ । वैद्य पक्षको जारी वैठकमा  संस्थापन विरुद्ध गर्ने आन्दोलन लगायतका कार्यक्रमवारे छलफल भैरहेको वैद्य पक्षिय पोलिटव्यूरो सदस्य खड्कबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहांका अनुसार आजै दिउँसो एक बजे पत्रकार सम्मेलन गरि आन्दोलन र पार्टीको रणनीति सार्वजनिक गरिने छ ।

यसैवीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बिहानैदेखि आफू पक्षधर र असन्तुष्ट बैद्य खेमाका नेताहरुसंग अनौपचारिक छलफलमा व्यस्त रहनुभएको उहां निकट स्रोतले जनाएको छ । बैद्य पक्षका नेतालाई कारबाही गरेर अघि बढ्नुपर्ने दबाब झेलिरहेका प्रचण्डले पार्टी एकतको प्रयासमा बिहानैदेखि अनौपचारिक छलफल थाल्नुभएको हो ।

तर अध्यक्ष प्रचण्डले पार्टी नेतृत्ववाट र उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पदवाट  राजीनामा दिएमात्र एकता संभव हुने बैद्य पक्षको अडान छ ।

सम्बन्धित समाचारहरु