नेता भण्डारी पक्षको सम्मेलनको अपडेट
नेता भण्डारी पक्षको सम्मेलनको अपडेट
Added: 2012 June 27

सुदिप पौडेल,असार १३ गते,काठमाण्डौ ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकवाट अलग भई छुट्टै पार्टी गठनको तयारीमा लागेका नेता शरतसिंह भण्डारी पक्षले आज राजधानीमा राष्ट्रिय राजनीति सम्मेलनको आयोजना गरेको छ ।देशभरका २७ जिल्लावाट २ हजार जनाभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको दावी गरिएको सम्मेलनले नयां पार्टीको नाम, विधान र राजनीतिक कार्यदिशा पारित गर्ने वताईएको छ । राष्ट्रिय सभागृहमा जारी सम्मेलनले गर्ने निर्णयहरु भने भोली पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने नेता प्रमोद गुप्ताले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन गर्दै भण्डारीले गच्छदारले सत्ता लिप्सामा परेर मधेसको मुद्धालाई  ओझेलमा पारेको आरोप लगाउनु भयो । गच्छदारको समूहले मधेसको मद्धा अब स्थापित गर्न नसक्ने दावी गर्दै भण्डारीले मधेस लगायत पिछडिएका सवै वर्ग र समुदायको हितको लागि आफुहरु अघि बढ्ने बताउनु भयो । बिभिन्न आन्दोलनमा व्यक्त भएको जनभावनालाई कुनै पनि पार्टीले सम्बोधन गर्न नसकेको भन्दै उहांले त्यसका लागि आफुहरु संघर्ष गर्ने बताउनु भयो ।

भोलि सम्म चल्ने सम्मेलनमा मधेस मूलका मात्रै नभएर पहाडी मूलका मान्छेको समेत सहभागिता रहेको छ । सम्मेलनमा सहभागिता जनाउने मध्य झण्डै २० प्रतिशत पहाडी मूलका रहेको आयोजकले दावी गरेको छ ।

पार्टीको अनुशासन नमानेको आरोपमा गएको जेठ २३ गते फोरम लोकतान्त्रिकले भण्डारीलाई निष्काशन गरेको थियो । त्यसको लगत्तै भण्डारी लगायत एक दर्जन पूर्व सभासदहरुले विजय कुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक छाडेर नयां पार्टी गठनको तयारीमा लागेका हुन् ।
 

सम्बन्धित समाचारहरु