अदालतको अवहेलना गरेको छैन : प्रम डा. भट्टराई
अदालतको अवहेलना गरेको छैन : प्रम डा. भट्टराई
Added: 2013 January 28

माघ १५, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्बन्धि अनुसन्धान रोकेको भनी आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गर्नु भएको छ । आफूमाथि परेको अवहेलनाको मुद्धामा सर्बोच्च अदालतलाई आज लिखित जवाफ दिँदै प्रधानमन्त्री डा. भट्टराईले अनुसन्धान रोक्न आदेश दिएको भन्ने आरोप झुटो र कपोलकल्पित रहेको उल्लेख गर्नु भएको हो ।कार्यकारी प्रमुखको हैसियतले आफूले कुनै पनि निर्देशन नदिएको भन्दै प्रधानमन्त्रीले सरकार प्रमुखलाई कुनै पनि आधार र कारणबिना लान्छना लगाउने उदेश्यले दायर गरिएको रिट खारेज गर्न माग गर्नु भएको छ । प्रधानमन्त्री डा. भट्टराईले आफुबाट अदालतको अबहेलना हुने कुनैपनि काम नभएको दाबी गर्नु भएको छ ।


द्वन्द्वकालमा भएका घटना छानवीन गर्न संक्रमणकालीन न्याय संयन्त्र बनाउनु पर्ने भन्दै उहांले त्यसको लागि अध्यादेश राष्ट्रपति समक्ष पठाएको तर पारित नहुँदा अहिले समस्या भएको उल्लेख गर्नु भएको छ ।अदालत समक्ष पेश गरिएको ५ पेज लामो लिखित जवाफमा प्रधानमन्त्री डा. भट्टराईले द्वन्द्वकालीन घटनाको छानवीन र कारबाही बिद्यमान फौजदारी कानुन अनुसार हुन नसक्ने भन्दै यसले ‘एउटै ब्यक्तिलाई एकै कसुरमा एक पटक भन्दा बढी कारबाही गरिने छैन’ भन्ने दोहोरो खतराको सिद्धान्त उल्लंघन हुने दाबी गर्नुभएको छ ।उहांले सरकारले दण्डहीनतालाई प्रश्रय दिइरहेको छ भन्ने आरोपको खण्डन गर्दै यस्ता घटनामा संक्रमणकालीन न्याय संयन्त्र स्थापना भएपछि त्यसै अनुसार अघि बढ्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ ।


पत्रकार थापाको हत्याका अभियुक्तको बयान नलिन प्रधानमन्त्री र महान्याधिवक्ताले दैलेखका जिल्ला न्यायाधिवक्तालाई लिखित आदेश दिएर अदालतको अवहेलना गरेको भन्दै परेको रिटमा माघ ५ गते सर्वोच्चले एक हप्ताभित्र अदालतमै उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको थियो । अदालतको उक्त आदेश वमोजिम प्रधानमन्त्री डा भट्टराईले आज लिखित जवाफ दिनु भएको उहांको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री डा भट्टराईले द्धन्दकालमा भएका कुनै पनि घटनाको अनुसन्धान अहिलेको कानुन अनुसार गर्न नहुने सार्वजनिक अभिब्यक्ति दिदै आउनु भएको छ ।

सम्बन्धित समाचारहरु