जर्मनी र पोर्चुगल यूरोकपको क्वार्टर फाईनलमा, आज स्पेन र क्रोयसिया तथा इटली र आयरल्याण्ड भिड्ने
जर्मनी र पोर्चुगल यूरोकपको क्वार्टर फाईनलमा, आज स्पेन र क्रोयसिया तथा इटली र आयरल्याण्ड भिड्ने
Added: 2012 June 18

बसन्त शर्मा असार ४, काठमाडौं । यूरोकप फुटबल अन्तरर्गत गएराती भएका समूह बी का खेलबाट जर्मनी र पोर्चुगल क्वार्टर फाईनल पुग्न सफल भएका छन् ।

गु्प अफ डेथ मानिएको यस समूहबाट जर्मनीले डेनमार्क तथा पोर्चुगलले नेदरल्याण्डलाई समान २–१ गोलअन्तरले हराउंदै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । जर्मनी समूह चरणका सबै ३ खेल जित्दै ९ अंकका साथ समूह बी को विजेता बन्यो भने पोर्चुगल ६ अंकका साथ समूहको उपविजेता बनेर क्वार्टर फाईनल पुगेको हो ।

जर्मनीलाई जिताउन लुकास पोडोल्स्की र लार्स बेन्डारले गोल गरे । १९ औं मिनेटमा गोल गर्दै पोडोल्स्कीले जर्मनीलाई अग्रता दिलाएको खेलमा डेनमार्कका लागि क्रोन  देल्लीले २५ औं मिनेटमा बराबरी गोल गरेका थिए । तर जर्मनीका लागि लार्स बेण्डरले ८० औं मिनेटमा अर्को गोल थप्दै टिमलाई विजय दिलाए ।

अर्को खेलमा पोर्चुगल विरुद्ध पहिले अग्रता लिएपनि जोगाउन नसक्दा विश्वकप उपविजेता नेदरल्याण्ड पनि समूह चरणका तिनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । ११ औं मिनेटमा भान डेर भार्टले नेदरल्याण्डका लागि गोल गरे पनि कप्तान क्रिस्टियानो रोनाल्डो ले २८ औं र ७४ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

प्रतियोगिता अन्तर्गत आजराती स्पेन र क्रोयसिया तथा इटली र आयरल्याण्डबीच खेल हुँदैछ । आयरल्याण्ड यसअघिका दुईवटै खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ  भने अरु तीन टीमका लागि अर्को चरण प्रवेश गर्न सोमबारको खेल निकै महत्वपूर्ण छ । स्पेन र क्रोयसियाले एक खेल बराबरी र एक खेलमा जित निकालेर समान चार अंक जोडेका छन् भने ईटलीले दुइवटै खेल बराबरी खेलेर दुई अंकमात्र जोडेको छ ।

सम्बन्धित समाचारहरु